चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
आठ वर्षदेखि ३० वर्षसम्मका गैँडालाई पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि पूर्व क्षेत्रमा स्थानान्तरण गरिएको उनले बताए ।
सूचना अधिकारी तिवारीका अनुसार यही चैत २ गतेदेखि गैँडा स्थानान्तरको काम सुरु गरिएको थियो । नवलपरासी बर्दघाट–सुस्ता पूर्व कावासोतीबाट ३० वर्षको भाले गैँडालाई कसरा क्षेत्रबाट पूर्वको तमोरताल क्षेत्रमा ल्याएर छोडिएको उनले जानकारी दिए ।
दिव्यपुरी पोष्ट क्षेत्रबाट १७ र आठ वर्षका भाले गैँडालाई खगेन्द्रमल्ली रेञ्जर पोष्ट दक्षिण क्षेत्रमा ल्याएर छोडिएको छ । निकुञ्जको सुकीभार क्षेत्रबाट १४, १६ र १३ वर्षका पोथी गैँडालाई खगेन्द्र मल्ली रेञ्जर पोष्टको क्षेत्रमा र सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष क्षेत्रमा रहेको १० वर्षको भाले गैँडालाई कोसिटपु वन्यजन्तु आरक्ष सप्तरीमा स्थानान्तरण गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका निकुञ्ज कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गरिएको हो ।
पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ चैत्र २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज