कञ्चनपुरको पुनर्वासमा ९ महिने शिशु बलात्कृत

सोमबार, ०१ असोज २०७५, २० : ३६
कञ्चनपुरको पुनर्वासमा ९ महिने शिशु बलात्कृत

पुनर्वास । तीजका दिन गत बुधबार आमाको काखबाट हराएकी ९ महिनाकी अवोध बालिकाको समेत बलात्कार गरिएको खुलासा भएको छ ।

भदौ २७ गते महिलाहरुको महान पर्व हरितालिका तीज मनाई रहँदा पुनर्वास नगरपालिकामा भने राति १ बजे आमाको काखमा सुतेको ठाँउबाट ९ महिने बालिका अपहरणमा परेकी थिइन् । धेरै तिर हल्लाखल्ला हुँदा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोली रातभर नै अपहरित बालिका र अपहरण गर्ने ब्यक्तिको व्यापक खोजी कार्यमा लाग्यो । स्थानीय सहितको प्रहरी टोलीले बिहिबार बिहान ७ः४० बजे बालिकाको ‘सकुशल’ उद्दार गरेको थियो । घटनास्थल नजिकै धानबारीमा बालिका भेटिएकी थिइन् । तर बालिका भेटिएको ७ घण्टापछि परिवारले बालिकाको बलात्कार समेत भएको पत्तो पायो ।

बालिका अपहरणमा परेको जानकारी पाउनासाथ पुनर्वास पुगेका कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतको उपस्थितिमा, पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा तथा उपमेयर शारदा बिष्ट धामीको हातबाट बालिका आमाको काखमा जिम्मा लगाईयो थियो । नांगो अवस्थामा हराएकी बालिका नांगो नै भेटिएकी थिइन् ।

कसरी हराईन बालिका ?
पुनर्वास नगरपालिका ५ घर भई वडा नम्बर ८ माइतीमा आफ्नी ९ महिने छोरी लिएर गएकी पीडित बालिकाकी आमाले दिनभरी तीज मनाएर बेलुका सुतेपछी राति१ बजे आफ्नो छोरी हराएको पत्तो पाइन । ‘६ वर्ष र ८ वर्षकी दुई बहिनीसँगै सुतेकी ती महिलाले टाउकोमा रुमाल बाँधेको कुनै अज्ञात व्यक्तिले अचानक आएर बालिकालाई लगेर गएको बताइन् । ‘लखेट्दा र खोज्दा समेत रातभर भेटिएन’, बालिकाकी हजुरआमाले भनिन् ।

‘सो दिन माइती घरमा कोही पुरुष थिएनन् । घरमा आमा दुई सानी बहिनी, छोरी र म मात्रै सुतेका थियौं । यस्तो होला भन्ने सोचेकै थिएनौं’, बालिकाकी आमाले बताइन् ।

बलात्कार भएको खुलासा
अपहरणमा परेर उद्दार गरिएकी बालिकाको बलात्कार भएको परिवारजनले सात घण्टा पछि मात्रै थाहा पाए । ‘बालिकालाई नुहाएर तेल लगाईदिने क्रममा योनीमा घाउ देखियो । घाउ भएपनि रगत भने देखिएको थिएन । ईलाका प्रहरी कार्यालयलाई सम्पर्क गर्‍यौँ’, बालिकाकी हजुरआमाले बताइन् ।

बालिकाको सकुशल उद्दार गरियो भनेर बालिकाका
परिवारलगायत सबै खुशी भएका थिए । नांगो अवस्थामा उद्दार गरिएकी बालिका बलात्कारको सिकार भएको कञ्चनपुर प्रहरी प्रमुख कडायत, मेयर, उपमेयर तथा कसैले पनि पत्तो पाएनन् ।

‘बालिकाको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुर्‍याएका थियौं । सेती अञ्चल अस्पतालका डा. राज्य खड्काले बालिकाको योनीमा गहिरो चोट लागेको बताउदैँ काठमाडौँ रेफर गरेपछि अहिले कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ । ’, पीडित बालिकाकी हजुरआमाले बताइन् ।

बलात्कारीको खोजी जारी
बलात्कार गरेर धानबारीमा छोडेर भाग्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए ।

‘खबर पाउनासाथ हामी तत्काल घटना स्थल पुगेका थियौं । यो घटनालाई लिएर प्रहरी एकदमै संवेदनशील छ’, प्रहरी निरीक्षक बमले बताए ।

यो समाचार मानसखण्ड अनलाईनबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस