काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरु भएको बयान सकिएको हो ।
नर्भिक अस्पतालमा उपचाररत महरा पहिलो दिन बयानका क्रममा भक्कानिएका थिए । उनी बयान सकिएपछि कुराकानी गर्ने क्रममा कस्सिएर रोएको एक अधिकारीले बताए ।
‘उहाँ कुरा गर्दागर्दै भक्कानिनु भयो । नखाएको विष लाग्यो भन्दै रुनुभयो’, ती अधिकारीले भने । सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका हुन् । भन्सारमा अड्किएको इलेक्ट्रिक सिगरेट–भेप छुटाउन महराको मोबाइलबाट फोन गएको देखिएपछि उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने तर सीआईबीले त्यतिबेला नल्याएको आयोगको दाबी छ । काठमाडौं जिल्ला सरकारी वकिल स्रोत आयोगले परिस्थतिजन्य प्रमाणका आधारमा महराको संलग्नता औँल्याएको बताए ।
‘उहाँको नम्बरबाट फोन गरेको बाहेक अन्य कुनै प्रमाण भेटिएको छैन’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो । ती अधिकारीले महराको शारीरिक अवस्था निकै जीर्ण रहेको पनि बताए ।
‘उहाँ राम्रोसँग बोल्नसमेत सकिरहनु भएको छैन । दुईतिर समातेर हिँडाउनुपर्ने अवस्था छ’, ती अधिकारीले भने । सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् । ‘टीभीदेखि मस्तिष्कको नसासम्ममा समस्या रहेछ’, सीआईबी स्रोतले भन्यो ।
यही प्रकरणमा महराका छोरा राहुल यसअघि नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन् । महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिन र उपचारको व्यवस्था मिलाउन अदालतले भनेपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ । प्रहरीले बयानका लागि ल्याउने र त्यसपछि अस्पताल पुर्याउने काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा
महरालाई हाजिरी जमानीमा छाड्ने तयारी
पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना