परीक्षाको तयारी : रुख चढ्ने र ओर्लने प्रतिस्पर्धा

पत्रपत्रिकाबाट

सोमबार, ०५ चैत्र २०८०, ०७ : ५५
परीक्षाको तयारी :  रुख चढ्ने र ओर्लने प्रतिस्पर्धा

File pic

काठमाडौ । काँक्रेविहारका जङ्गलमा करिब एक महिनादेखि १०–१२ जना युवतीको समूह रुख चढ्ने र ओर्लने प्रतिस्पर्धामा छन् । 

बिनाकुनै प्रविधि वा उपकरण हात र खुट्टाको चालमा सालका सुरिला र अग्ला रुखका टुप्पामा पुग्ने र झर्ने उनीहरूको कला अचम्मको छ । काँक्रेविहार मात्र होइन, वीरेन्द्रनगरमै रहेको कुइनेपानी जङ्गलका रुख पनि अहिले यस्तै प्रतिस्पर्धात्मक अभ्यासका कारण चिल्ला बन्न थालेका छन् । 

दैनिक एकदेखि दुई घण्टा रुख चढ्ने र ओर्लने यो प्रतिस्पर्धा भने लोक सेवा आयोगको परीक्षाको तयारीका लागि हो । लोक सेवा आयोगले लिने वनरक्षक पदको परीक्षामा सम्मिलित उम्मेदवारले यसरी अभ्यास गर्दै आएका हुन् । तिनमा महिला मात्र होइन, पुरुषको पनि उत्तिकै सहभागिता छ । 

त्यसरी प्रतिस्पर्धात्मक अभ्यास गर्ने युवती पनि काँक्रेविहार वा सुर्खेत आसपासका होइनन् । काँक्रेविहारमा अभ्यासरत युवती जुम्लाबाट डेरा जमाएर सुर्खेतका विभिन्न स्थानमा बस्ने गरेका छन् । 

जुम्लाको सिँजा गाउँपालिका–४ की १८ वर्षीय सपना बुढाले अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा बसेर यसरी नै लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै आएको बताइन्। उनले सङ्घीय लोक सेवा आयोग र कोशी प्रदेश लोक सेवा आयोगमा वनरक्षक पदमा दरखास्त दिएकी छन् । 

वनरक्षकका लागि रुख चढ्नुपर्ने, पौडी खेल्नुपर्ने जस्ता शारीरिक अभ्यास हुने भएकाले यसरी रुख चढ्नु परेको उनको भनाइ छ । जुम्लामा ठुला रुख नहुने भएकाले सुर्खेतमा आएर रुख चढ्ने अभ्यास गर्नु परेको सपनाले बताइन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस