बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १६ : ५४
बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित

मकवानपुर । बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । मंगलबार ३ बजेका लागि आह्वान गरिएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको थियो ।

करिब ४ बजे सुरु भएको  बैठक १० मिनेट बसेर स्थगित गरिएको हो । मंगलबारका लागि तय गरिएको कार्यसूची अनुसार बैठक सञ्चालन गरी सभामुख भुवन कुमार पाठकले स्थगित गरेका हुन् ।

बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो । समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद बैठकमा प्रतिवेदन पेस गरेका थिए । उनले पेस गरेको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ भने सो अनुसार प्रदेश सरकारलाई संसदले निर्देशन दिनेछ ।

बैठकमा प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो विधेयकलाई दफावार छलफलका लागि उद्योग पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले पेस गरेको उक्त प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेस गरेका थिए । सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो ३ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस