उपकुलपतिविहीन तीन विश्वविद्यालय

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, ११ : ३५
उपकुलपतिविहीन तीन विश्वविद्यालय

काठमाडौं । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहेका छन् ।

उनीहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गरेका थिए। यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हालका लागि स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही पनि खुलाएको छैन ।

माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोचपत्रसहित चारवर्षे कार्ययोजना बुझाएका छन् । उनीहरूले आवेदन साथ पेस गरेको योजना तथा सोचपत्रको अध्ययन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस