ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १६ : २३
ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत्, उत्पादन, प्रसारण र वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।

स्वीस राजदूत डानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोस, एसियाली विकास बैंक (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरु सम्मिलित टोलीले बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन भ्रमण गरेको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलितपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको हो । उक्त सबस्टेसनको अनुगमन भ्रमणमा पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धीहरुको प्रशंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिबद्धता जनाएको थियो ।

नेपालमा जलविद्युत उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बंगलादेशसँगको विद्युत्का विषयमा जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५/६ वर्षमा १२/१३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताए ।

विश्व बैकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले बैंको नेतृत्वमा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताए । उनले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनु पर्नेमा जोड दिए ।

एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षबाट साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस