लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०५ फागुन २०८०, १६ : ०८
लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली लोकसंगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुन आग्रह गरेका छन्।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए।

'दर्शक-श्रोताको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन्। तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ। यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ,' उनले भने।

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा नभएको बताए। सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै उनले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस