गरिबलाई रेफरै रेफर

पत्रपत्रिकाबाट

मंगलबार, २६ भदौ २०७५, ०९ : ०९
गरिबलाई रेफरै रेफर

चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन् । उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन् । पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन् । सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्‍याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए ।

घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुगेपछि ईश्वरीले त्यहाँ तीन केजीको छोरा जन्माइन् । भदौ २१ गते साँझ नयाँ सन्तानको आगमनमा खुशी भएको यो दम्पत्तिलाई अहिले उसैलाई कसरी बचाउने भन्ने पिरलो छ ।

सुरुमा यातायात असुविधाका कारण सास्ती झेलेका ईश्वरी र धनप्रसाद स्वास्थ्य सुविधा भएको ठाउँमा आएपछि भने अस्पतालको व्यवहारले दुःखी छन् । नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालहरूले एक ठाउँबाट अर्को ठाउँमा रेफर गरिरहे । धनप्रसाद अस्पताल र चिकित्सकबाट पाएको सास्ती सुनाउन चाहँदैनन्। ‘सबै दुःख सुनाउँदा झन् अफ्ठेरो पो पर्ने हो कि’, डराई–डराई उनले भने, ‘छोरालाई कसैले नहेर्ने हो कि ? ’

साँझ जन्मिएको शिशुलाई राति एक बजे असजिलो भयो । चिकित्सकले श्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो भएको भन्दै अन्यत्र लैजान रेफर गरे । त्यसपछि उपचारका लागि रकम जुटाउने कि जहाजको टिकट खोज्ने भन्ने संकट आइलाग्यो । धनप्रसादले एघार हजारभन्दा बढी खर्च गरी गोमा एयरलाइन्सबाट नेपालगन्ज राँझा विमानस्थल झारे । काठमाडौं लैजान जहाजको टिकट पाइएन ।

त्यसपछि उनले एम्बुलेन्सद्वारा झन्डै १२ किलोमिटर टाढाको कोहलपुर मेडिकल कलेजमा दौडाए। त्यहाँ एक दिन एक रात राखे । ‘यहाँ उपचार गर्न महँगो पर्छ, तपार्इंको आर्थिक अवस्था के छ ? ’ भन्दै चिकित्सकले प्रश्न गरेपछि उनी अन्यौलमा परे। अस्पताललाई दश हजार बुझाए ।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस