थारु र मधेस सांस्कृतिक पार्क बनाउँदै सरावल

रासस

विहीबार, १८ माघ २०८०, १३ : ४०
थारु र मधेस सांस्कृतिक पार्क बनाउँदै सरावल

नवलपरासी । पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ ।  सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ । उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताएका छन् ।

सांस्कृतिक पार्कमा पहिरन, पेसागत सामग्री, घर, रीतिरिवाज, पुराना संस्कार तथा संस्कृति झल्किने मूर्ति निर्माण गरी राखिने उनले बताएका छन् । पार्क निर्माणका लागि स्थान चयन तथा डिपिआरसमेत निर्माण भइसकेको छ । थारु सांस्कृतिक पार्क गाउँपालिका–२ को मनरी बनाउने भएको छ भने मधेसी सांस्कृतिक पार्क वडा नं ४ स्थित ललितपुरमा निर्माण गरिने अध्यक्ष चौधरीले बताए । यसबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धन उनले भनेका छन् ।

पार्क निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेशबाट बजेट माग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले बताए । मनरीस्थित निर्माण हुने थारु सांस्कृतिक पार्कको डिपिआर तयार गरी तारबारसहितको काम अगाडि बढाइएको उनले बताए ।

यस्तै मधेस सांस्कृतिक पार्कको प्रारम्भिक सर्भे गरी डिपिआर निमार्णको तयारी भइरहेको अधिकृत मिश्रले भने। उक्त पार्कमा आन्तरिक तथा बाह्य पर्यटकसमेत ल्याउनका लागि अन्य विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिने छ । जसमा सेल्फीस्थल, उद्यान, पिकनिक पार्क, सभाहल, जल भण्डारण, पुस्तकालय र विभिन्न किसिमको प्राकृतिक सौन्दर्यतालाई समेत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस