बालबालिकाप्रति भरतपुर संवेदनशील : मेयर दाहाल

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १८ : ३८
बालबालिकाप्रति भरतपुर संवेदनशील : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । 

प्रहरी नागरिक साझेदारी अभियानको भरतपुर-५ मा शनिबार आयोजित दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले बालबालिका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताइन् । शिक्षाबाट वञ्चित हुन नदिन अटिजम विद्यालय, पक्षाघात भएकालाई भरतपुर-२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको उनले बताइन् । 

यस्तै, बाबुआमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउन महानगर र विद्यालयबीच सम्झौता भएको समेत उनले बताइन् । 

‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ,’ उनले भनिन्, ‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन । संवेदनशील र अवस्थाअनुसार अझै बढी सहयोग गर्नुपर्छ । यहाँहरू खुसी भए पनि म भने खुसी छैन ।’ गर्नुपर्ने काम अझै धेरै रहेको जिकिर उनले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस