गाजामा बन्धक बनेका इजरायलीका परिवारका सदस्यहरू संसदमा प्रवेश गरे

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १२ : ४८
गाजामा बन्धक बनेका इजरायलीका परिवारका सदस्यहरू संसदमा प्रवेश गरे

एजेन्सी । गाजामा अझै पनि बन्धक बनाएका केही इजरायलीका परिवारका सदस्यहरू सोमबार इजरायलको नेसेट (संसद)मा प्रवेश गरेका छन्।संसदमा आर्थिक मामिलासम्बन्धी बैठक चलिरहेको बेला बन्धकका परिवार सुरक्षा व्यवस्था तोडेर सदनभित्र पसेका हुन् ।

ती मध्ये एकजनाले प्लेकार्ड बोकेका थिए जसमा लेखिएको थियो– ‘हाम्रा छोराछोरी मरिरहेका बेला तिमीहरु यहाँ बस्न सक्दैनौ ।'अक्टोबर ७ मा हमासको हमलापछि बन्धक बनाएका १३० जना अझै हमासको हिरासतमा छन् भने गत वर्ष नोभेम्बरमा ‘अस्थायी युद्धविराम सम्झौता’ अन्तर्गत हमासले १०० जनालाई रिहा गरेको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायल र हमासबीच अर्को सम्झौता गर्न अमेरिका, कतार र इजिप्ट सफल हुने देखिँदैन ।

इजरायलले हमासलाई पूर्ण रूपमा नष्ट नगरेसम्म युद्ध नरोक्ने बताएको छ । जबकी हमासले इजरायलले आफ्ना सबै प्यालेस्टिनी नागरिकलाई जेलबाट रिहा गर्न तयार भएपछि मात्र सम्झौतामा सहमत हुने जनाएको छ । हमासका धेरै नेताहरू पनि इजरायली जेलमा छन्।