सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १२ : ११
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु विकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-१५ मुक्तिनाथ टोलस्थित सडकमा प्रदेश.३-०३-००१ प ६०३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरुङको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट  गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सुनसरीको हरिनगरा गाउँपालिका-१ गोडियारी टोलस्थित सडकमा भुटाहा चोकबाट फुलचोकतर्फ जाँदै गरेको प्र १-०५२ प ३८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय वीरेन्द्र बहदारको मृत्यु भएको छ ।

उक्त मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पारस अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।