चितवन राष्ट्रिय निकुञ्जमा छ महिनामा नौ गैँडा मरे

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १६ : ३०
चितवन राष्ट्रिय निकुञ्जमा छ महिनामा नौ गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बूढो भएर र भीरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए । 

त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले सो गैँडा तस्करले मारेको आशंका गरिएको बताए । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशंका गरिए पनि यकिन नभएको उनले बताएका छन् । उक्त घटनाको अनुसन्धान भइरहेको छ ।

निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२-७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशंका गरिएको छ । 

बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् ।