काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, १२ : ४५
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

धनगढी । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।

दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।

बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बताए । उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस