सहकारीका समस्या समाधान गर्न शुद्धीकरणको विकल्प छैन: अध्यक्ष ढकाल

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, ११ : १२
सहकारीका समस्या समाधान गर्न शुद्धीकरणको विकल्प छैन: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीहरूलाई शुद्धीकरण गरेर जाने प्रतिबद्धता आफूले पहिलो बैठकमा नै गरेको बताए। ढकालले सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिविद्धतासहित नयाँ ढङ्गमा अगाडि बढ्ने बताए ।

उनले सहकारीको शुद्धीकरणमा गए मात्रै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने दाबी गरे । सहकारीको क्षेत्रभित्र सम्भावनाहरू धेरै रहेको उनले उल्लेख गरे । अध्यक्ष ढकालले सहकारी भित्र आएका समस्याहरू व्यक्ति विशेषको कारण आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको दाबी गरे ।

केही गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथक् रूपमा सहकारी अभियान अगाडि बढाउने उनले बताए । उनले बचत तथा ऋण सहकारी भित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बर भित्र शुद्धीकरण गरी बचत तथा ऋण सहकारी संस्थाहरूले नै सुशासनको प्रत्याभूति दिने गरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको बताए ।

अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठुलो सङ्कट आउने अवस्था रहेको भन्दै उनले सहकारीहरू सुधार हुनुको विकल्प नभएको बताए । उनले भूकम्प, युक्रेन—रसियाको युद्ध, कोभिड महामारी सबैभन्दा ठुलो असरको कारण रहेको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको बताए । 

प्रतिक्रिया दिनुहोस