शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा हुन् : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १३ : १८
शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा हुन् : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा भएको बताएका छन् ।काठमाडौं महानगरपालिकाद्वारा मंगलवार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मष्तिष्क खुलाउने तथा खेलकुदले मष्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने उनको भनाइ छ ।‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने तथा विद्यार्थीमा अभिवृत्ति, सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्’, उनले भने ।

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता सशक्तीकरणको प्राण भएको उनले बताए ।‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्नहरु होऊन् भनेर म सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए । यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा  आवश्यक रहेको उनको भनाइ छ ।

उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताए । यस्तै, युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस