ज्येष्ठ नागरिकहरूको संरक्षणमा संवेदनशील बनौँ : मन्त्री आचार्य

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १९ : ४४
ज्येष्ठ नागरिकहरूको संरक्षणमा संवेदनशील बनौँ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकायहरू संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौँ आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताए ।

नले भने,‘जनसाङ्ख्यिक परिवर्तन, बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा चुनौतीहरू थपिएका छन् । यस्ता चुनौतीहरूको सामना गर्न संवेदनशील बन्न आवश्यक छ । ’ज्येष्ठ नागरिकबाट हस्तान्तरण हुने ज्ञान र अनुभवले युवा पुस्तालाई इतिहास, संस्कृति र सभ्यतालाई जोगाइराख्न ऊर्जा हुने उनले बताए ।

ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिएका विभिन्न सुविधा र सहुलियतहरूको अवस्था अनुगमन गरी कार्यान्वयनको सुनिश्चितताका लागि मन्त्रालय सधैँ प्रयत्नशील रहेको उनले बताए । अझ कार्यान्वयन उन्मुख बनाउन प्रभावकारी संयन्त्र परिचालन गर्ने समेत उनको भनाइ छ ।

ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरू सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा तथा सेवा सुविधामा प्राथमिकता छुट एवम् सहुलियत प्रदान गर्ने कार्य प्रभावकारी रहेको भनाइ उनले राखेका थिए ।