काठमाडौँ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले कसैको दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्ने बताएका छन् ।शुक्रबार पत्रकारहरुसँगको भेटमा उनले भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा विशेष अदालतको भूमिका महत्त्वपूर्ण हुने भन्दै तथ्य र प्रमाणको आधारमा फैसला गर्ने प्रस्ट पारे ।
उनले विभिन्न मुद्दाका सम्बन्धमा हुने ‘मिडिया ट्रायल’ले केही समस्या पर्ने बताउँदै फैसला आइसकेपछि आउने समाचार र मुद्दा विचाराधीन अवस्थामै आउने समाचारले पार्ने प्रभावका बारेमा सचेत रहन पत्रकारहरुलाई आग्रहसमेत गरे ।
समाचारमा ठुलो भ्रष्टाचार भएको भनेर समाचार आउने तर मिसिलमा त्यस्तो कुनै प्रमाण नहुने भएकाले कतिपय मुद्दामा बाहिर अपेक्षा गरिएजस्तो फैसला नआउने उनको भनाइ थियो ।
कुँवरले जानाजान अनियमित, ढिलासुस्ती, दबाब र प्रभावमा काम नगर्ने प्रतिबद्धतासमेत जनाए । अदालतले प्रमाणको आधारमा नै फैसला गर्ने भएकाले जनतामा गलत म्यासेज नजाओस् भन्नेमा पत्रकार जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।उनले भर्चुअल माध्यमबाट सुनुवाइको तयारी भइरहेको जानकारी दिँदै यसबाट विभिन्न जिल्लाबाट सुनुवाइका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १६ : २५
लेखकबाट थप