नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, वडा अध्यक्षसहित केही पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ मंसिर २०८०, १६ : ११
नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, वडा अध्यक्षसहित केही पक्राउ

काठमाडौं। ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको विषयलाई लिएर नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।शुक्रवार बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

 

ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको मृत्यु भएपछि शनिवार बिहानैदेखि स्थानीयले सडक अवरूद्ध गरेका हुन् ।अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन् ।प्रहरीले चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

 

अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।शुक्रवार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगातर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि–२ नागढुंगा बस्ने ४० वर्षीय  श्रीधर भुर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए ।उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रवार साँझ उपचारकै क्रममा मृत्यु भएको थियो ।घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस