देशमा जनताको सरकार छैन : केपी ओली

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १२ : १२
देशमा जनताको सरकार छैन : केपी ओली

पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ कास्की प्रवेश गरेको छ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो ।

पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा जनताको सरकार नभएको टिप्पणी गरेका छन् ।

हेमजाको मिलनचोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । उनले भने, ‘देशमा सरकार छ जस्तो पनि छ, छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको छ, झण्डा हल्लाएको छ । छ भन्ने हो भने जनताको काम गरेको छैन ।’

यस्तो अवस्थामा आफ्नो पार्टी एमाले सधैं चुप लागेर नबस्ने बताए । एमाले बाहेक अरुले यो देश बनाउन सक्दैन भन्ने कुरा एमालेको एक्लै सरकार हुँदा हेमजाको भाइरल रोड पनि बनायो, यस्ता रोड कति बनाउँछ, कति ।’

उनले आफू प्रधानमन्त्री हुनुअघि वर्षमा १० किलोमिटर सडक पिच हुने गरेकोमा आफू प्रधानमन्त्री भएपछि दिनमै १० किलोमिटरका दरले पिच गर्न थालेको दाबी गरे ।