हुतीहारा सरकारले कोही रिसाउँछ कि भनेर पोखरामा विमान उतार्न दिएन : केपी ओली

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १२ : ५२
हुतीहारा सरकारले कोही रिसाउँछ कि भनेर पोखरामा विमान उतार्न दिएन : केपी ओली

बाग्लुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि सरकारका कारण चल्न नसकेको आरोप लगाएका छन् । कुनै देश रिसाउँछ कि भनेर आउन खोज्ने प्लेन उतार्न नदिएको उनले आरोप लगाए ।

नेकपा एमालेले शुरू गरेको मध्यपहाडी संकल्प यात्रा अन्तर्गत बिहीवार बागलुङमा आयोजित सभामा ओलीले सरकारको कमजोरीका कारण पोखराको विमानस्थल चल्न नसकेको बताएका हुन् । ‘पोखरामा नयाँ एयरपोर्ट बनाएका छौं, मैले नै शिलान्यास गरेको थिएँ । हुतीहारा सरकारले कोही रिसाउँछ भनेर पोखरामा प्लेन उतार्न सकेन’ ओलीले भने ।​

 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले फरक प्रसंगमा नेपालका मेडिकल कलेज सञ्चालन हुन नदिने विदेशी संस्थाका एजेन्डा लागिपरेको र त्यसलाई नेपालकै केही तत्वले मलजल गरिरहेको आरोप लगाए । ‘यहाँ (बागलुङ) मा पनि मेडिकल कलेज चल्न सक्छ ।

नेपालका मेडिकल कलेज चल्न नदिन विदेशी शैक्षिक संस्थाका एजेन्ट लागिपरेका छन् । नेपाललाई मेडिकल शिक्षाको हब बनाउनु पर्छ, दुनियाँका मान्छेलाई ल्याएर पढाउन सकिन्छ’ ओलीले भने ।अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको अर्थतन्त्र लथालिङ्ग बनेको आरोप लगाए ।

 

 

प्रतिक्रिया दिनुहोस