कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्ने

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १५ : ०९
कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्ने

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको बताए । बैंकको ब्याजदर अझै घट्दै जाने पनि उनको दाबी थियो । 

उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे । केसीले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए । 

उनले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताए । उनले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताए । उनले दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गरे । पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गरे । 

 ‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ’, उनले भने, ‘यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं । अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको छ । आगामी दिनमा आर्थिक क्षेत्रको विकासको लागि आवश्यक हुने कर्जाको लागि नेपालको बैंकिङ क्षेत्र तरलता अभाव छैन । बैंकिङ क्षेत्र सक्षम अवस्थामा छ ।’

उनले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताउँदै देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको समेत धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस