भारतको क्रिकेट प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, १५ : ५५
भारतको क्रिकेट प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता

काठमाडौँ । भारतको राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन् । उनको करार एक दिवसीय विश्वकपसम्मलाई रहेकोमा अनिश्चित कालका लागि लम्ब्याउने निर्णय भारतीय क्रिकेट बोर्डले गरेको छ ।

क्रिकइन्फोका अनुसार द्रविडले कम्तीमा २०२४ को जूनमा हुने टी-२० विश्वकपसम्म टिम सम्हाल्नेछन् । उक्त विश्वकपमा भारतले गर्ने प्रदर्शनका आधारमा थप निर्णय लिइने जनाइएको छ ।

सन् २०२१ को नोभेम्बरमा द्रविड दुई वर्षका लागि भारतीय टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा भारतले उल्लेख्य सफलता हासिल गरेको छ । भारत एकै पटक टेस्ट, एक दिवसीय र टि-२० को उच्च वरियतामा समेत पुगेको थियो । यद्यपि, भारतले कुनै पनि आइसिसीको उपाधि भने जित्न सकेन ।

बीसीसीआइले द्रविडलाई सम्झौता अवधि लम्ब्याउने प्रस्ताव गरेकोमा द्रविडले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस