पच्चिस वर्षपछिको जनकपुरधामबारे चर्चा

रासस

शनिबार, ०२ मंसिर २०८०, १५ : २३
पच्चिस वर्षपछिको जनकपुरधामबारे चर्चा

महेन्द्रनगर । जनकपुरधाममा मधेश मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरूले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।

कार्यक्रममा जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले अबको २५ वर्षपछि जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर जनकपुरधाम-अयोध्यासम्मको रेल सेवा, राजर्षिजनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हराभरा वातावरणका लागि वृक्षारोपणलगायत विविध विषयको कल्पना गरेका छन् ।

उपप्रमुख किशोरी साहले नगरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने भन्दै यहाँ धेरै सुधारका काम भएको र अझै गर्नुपर्ने धेरै भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मधेस प्रदेशअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले प्रदेशलाई सहयोग गर्ने विषयमा सङ्घीय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रीकृत सोच हाबी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताए ।

कार्यक्रममा प्रा डा. भोगेन्द्र झाले अतीत बिनाको योजना काम लाग्न नसक्ने भन्दै योजना बनाउँदा अतीतलाई नबिर्सन आग्रह गरे । उनले जनकपुरधामको विकास गर्दा फराकिलो सोचका साथ दीर्घकालीन र मजबुत योजना बनाउनुपर्नेमा जोड दिए । यहाँ बनाइएका सडक तथा ढलहरू दीर्घकालीन रूपमा मजबुत नरहेको झाको भनाइ थियो । उनले शिक्षा बिना कुनै पनि योजना अधुरा हुने भन्दै शिक्षाका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘मधेसको निराशा भित्र लुकेको आशा’

दोस्रो सत्रका वक्ताहरूमध्ये पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीयता मधेसका लागि अपरिहार्य रहेको भन्दै यसको अर्को विकल्प नरहेको बताए । उनले सङ्घीयता पक्ष शक्तिहरू विकास, निर्माणका पक्षमा भन्दा अन्य विवादमा फसेकाले समस्या देखिनुका साथै कतिपयमा असन्तुष्टि देखिएको धारणा राखे ।

कार्यक्रममा मधेस आन्दोलनका अगुवा विभा ठाकुर र सरोजकुमार मिश्रले जनताले सपनामा देखेको सङ्घीयता र अहिलेको सङ्घीयता फरक रहेको बताउँदै विकासका लागि सङ्घीयता मात्रै विकल्प नभएको बताए । उनीहरूले मधेस आन्दोलनका अगुवा युवाहरूको अवस्था अहिले कमजोर बन्दै जाँदा पनि मधेस केन्द्रित दललाई कुनै प्रभाव नपरेको गुनासो राखे । उनीहरूले अहिले युवा पुस्तामा नै सङ्घीयता प्रतिको आकर्षण घट्दै गएको बताएका थिए । राजनीतिक विश्लेषक राकेश मिश्रले संविधान निर्माणका क्रममा सङ्घीयता पक्षधर मधेस केन्द्रित दलहरू कमजोरी भएका बताए।

तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठ पर्वको समाजिक तथा सांस्कृतिक महिमाको बारेमा बयान गरेका थिए । छठ पर्वमा प्रकृतिको पूजा, प्रयोग र पद्धतिका साथै छठले बसाएको समाजिक सद्भाव, एकता, सहयोगलगायत विशेषताको विषयमा चर्चा गरे । लाल छठले देखाएको एकताबाट वर्तमान राजनीतिक दलका नेताले पाठ सिकेर राजनीतिमा पनि सुधार गर्नुपर्ने सुझाव दिए ।

“परम्परागत छठले विभेदको अन्त्य गरिसक्दा पनि वर्तमान राजनीतिक दल र सरकारले किन गर्न सकिरहेको छैन रु”, उनले प्रश्न गरे। छठ पर्वमा पुरोहित वा मन्त्र पढ्ने कुनै पनि सहजकर्ता नरहेको भन्दै लालले यस पर्वमा व्रतालु र प्रकृति, सूर्य देवता र छठी मइयाको बीचमा सिधा संवाद हुने बताए । “छठमा मन्त्र हुँदैन”, उनले भने, “लोकगीत र जनहित हुने पर्व हो यो ।”

समाजमा ठुला र साना जातको वर्गीकरण रहेको अवस्थामा छठले सबैलाई एक ढिक्का पारेकाले यो पर्व वर्ण र लिङ्ग विमुख्त पर्व रहेको लालको भनाइ थियो । उनले भने, “पहिला आफूलाई ठुला जात भन्नेले छठ गर्थेनन् । पछि बग्दै गरेको नदीमा गर्न थाले र पानीको बहावअनुसार स्थान व्यवस्थापन गर्थे । पछि पोखरीमा पनि छठ हुन थालेपछि विभेद आफैँ समाप्त भयो र छठ पर्वका रूपमा मनाइन थालियो ।”

तिनै सत्रको सहजीकरण मधेस मानसका अगुवा मनोज साह, नवीन झा र अनुज मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस