व्यापार सन्तुलनका लागि लगानीमा साझेदारी गर्न कोरियाली लगानीकर्तासँग अध्यक्ष ढकालको आग्रह

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, १३ : १९
व्यापार सन्तुलनका लागि लगानीमा साझेदारी गर्न कोरियाली लगानीकर्तासँग अध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन्। बुधवार काठमाडौंमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी रहेको उनको भनाइ थियो ।अध्यक्ष ढकालले  ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसीटी  गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए ।

यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई 'विनविन'को अवस्था सृजना हुने अध्यक्ष ढकालले बताए ।

 

नेपालमा ठूलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा अध्यक्ष ढकालले जोड दिए ।

 

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधिकरण गर्न कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने उनले बताए । अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने बताए । 

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले  निजी इक्विटी र नयाँ-नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने बताए । 

कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने अध्यक्ष ढकालले बताए ।त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

प्रतिक्रिया दिनुहोस