भिडभाड नगरी उद्धार र राहतमा लाग्न ओलीको निर्देशन

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १२ : १३
भिडभाड नगरी उद्धार र राहतमा लाग्न ओलीको निर्देशन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिडभाड नगरी जाजरकोट भूकम्प पीडितको उद्धार र राहतमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।​​गएराति जाजरकोटमा गएको ६.४ रेक्टरस्केलको भूकम्पमा १३० भन्दा बढीको ज्यान गएपछि ओलीले सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन् ।

‘हामी जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद् अवस्थामा छौं । धेरै घाइते हुनुहुन्छ। भूकम्पमा ज्यान गुमाउनु भएका सबै दिदीबहिनी दाजुभाइप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको उद्धार र उपचारमा परिचालित हुन पार्टीका   साथीहरूलाई आह्वान गर्दछु।

उद्धार र राहतमा संलग्न स्वयंसेवक साथीहरूले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला’ ओलीले भनेका छन्, ‘देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला।

विशेषगरी सुर्खेत, नेपालगन्ज, काठमाडौंका पार्टीका कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक ब्लड संकलनमा सहयोग गर्नुहोला । उद्धारमा भिडभाड भन्दा छरितो व्यवस्थापन गर्नु पर्छ । विपद् र शोकको यस समयमा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा उत्सवसम्बन्धी सबै कार्यक्रमहरू स्थगित गर्न म देशभरका सबै पार्टी निकायहरूलाई आग्रह गर्दछु।’

 

प्रतिक्रिया दिनुहोस