नेपाल-भारत सीमा स्तम्भको मर्मत गर्दै सशस्त्र प्रहरी

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, १५ : १४
नेपाल-भारत सीमा स्तम्भको मर्मत गर्दै सशस्त्र प्रहरी

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुरुवात गरेको छ ।​मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल–भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मत कार्यको शुरुवात गरिएको एपीएफले जनाएको छ ।

सीमा स्तम्भ मर्मतको शुरुवात गर्दै नायब महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त प्रहरीलाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए ।यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने उनको भनाइ थियो ।

 

उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरूमा निरन्तर रुपमा मर्मत कार्य जारी रहने बताए ।मर्मतका क्रममा स्थानीय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको समेत उनले बताएका छन् ।

यस्तै, उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोगविना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको धारणा राखे ।सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम शुरू गरिसकेको र गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांश वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एपीएफले जनाएको छ ।

कार्यक्रमबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस