गुण्डानाइके रिगलविरुद्धको रिट हेर्दाहेर्दैमा, भोलि पुनः सोही इजलासमा सुनुवाइ हुने

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १६ : ३५
गुण्डानाइके रिगलविरुद्धको रिट हेर्दाहेर्दैमा, भोलि पुनः सोही इजलासमा सुनुवाइ हुने

काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । मंगलबार वादीपक्षबाट बालकृष्ण न्यौपाने, यज्ञनिधी न्यौपाने लगायतले बहस गरेका थिए भने सरकार तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी लगायतले बहस गरेका थिए । मंगलबारको बहस नसकिएपछि बुधबारका लागि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।

नियन्त्रणमा लिई व्यक्ति हत्या गरेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रिगललाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 

 

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए । 

जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरु त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् । रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र गिल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाएकी थिइन् ।

उक्त मुद्दामा गत असोज २५ गतेसमेत सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा खाजा समय अगाडि सुनुवाइ भएपनि खाजा समयपछि भने प्रधानन्यायाधीश श्रेष्ठले रिक्युजलको घोषणा गरेका थिए ।

त्यसभन्दा अगाडि पनि आफूहरुले यस्तै प्रकृतिको मुद्दामा फैसला गरिसकेको कारण राष्ट्रपतिबाट भएको बाँकी कैद कट्टाको मुद्दा हेर्न मिल्ने कि नमिल्ने भन्दै महान्यायाधिवक्ता र पक्षका वकिलसँग कुराकानी गरेका थिए । त्यसलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले उक्त मुद्दामा रिक्युजलको घोषणा गरेका थिए । लगत्तै अन्य न्यायाधीशहरुले पनि रिक्युजलको घोषणा गरेपछि अब रिगलविरुद्धको मुद्दा आफूहरुबाहेकको इजलासमा पेस गर्न भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस