भरतपुर अस्पतालमा बडादशैंकै दिन जन्मिए २० शिशु

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, १० : ४०
भरतपुर अस्पतालमा बडादशैंकै दिन जन्मिए २० शिशु

काठमाडौ । सबैतिर दशैंको टीका लगाइरहँदा भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ।  प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित १० स्वास्थ्यकर्मी खटिएका थिए ।
 
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दशैंको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए । 

टीकाका दिन ६ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने  अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । युसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । 

अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताए ।
 
प्रसूति विभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाइकर्मीलगायत कर्मचारी चाडपर्व पनि नभनी निरन्तर काममा खटिएका उहाँको भनाइ थियो । 

काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह पछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालबाट लिने गरेका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १२ हजार सात सय थियो । 

चितवनसहित छिमेकी जिल्लाबाट यहाँ प्रसूति सेवाका लागि बिरामी आउने गर्दछन् । जिल्लामै पनि अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पन्न व्यक्तिले समेत प्रसूति सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको प्रमुख पोख्रेलले जानकारी दिए ।

यो विभागमा १२ विशेषज्ञ चिकित्सक, २५ नर्सिङ स्टाफसहितको अनुभवी समूह परिचालित रहेकामा ३० वर्षभन्दा लामो समयदेखि प्रसूति गराउँदै आएका अनुभवी नर्सिङ स्टाफसमेत रहेका छन् । 

यस अस्पतालमा अन्य समयमा दैनिक ५० हाराहारी शिशु जन्मने गर्दछन् । तीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुँदै आएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ । चौबिसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ ।

मेडिकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालले नियमित प्रसूति सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप बढी भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेक अन्य सेवासमेत दशैंमा नियमित गरिएको बताए । अस्पतालमा छ घण्टा डायलासिस सेवा रोकिए पनि अन्य सेवा भने सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो । सुपरिटेन्डेन्ट प्रा डा पौडेललका अनुसार अस्पतालमा कार्यरत एक हजार ४५ चिकित्सक कर्मचारीमध्ये आधाले दशैंमा काम गरेका र तीमध्ये सबैभन्दा बढी नर्सिङ स्टाफ रहेका थिए ।

अस्पतालमा कार्यरत चार सय नर्समध्ये तीन सयले दशैंको बेलामा समेत काम गरेका छन् । त्यस्तै सरसफाइ र सुरक्षाकर्मी एक सय ९५ मध्ये एक सय ३८ तथा दुई सय चिकित्सकमध्ये एक सयले काम गरेका थिए । दशैंको समयमा बहिरङ्ग सेवा सञ्चालन नहुँदा अस्पताल आएका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए । 

प्रतिक्रिया दिनुहोस