स्पेनसहित विभिन्न देशसँग श्रम सम्झौता गरिने

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १९ : ३८
स्पेनसहित विभिन्न देशसँग श्रम सम्झौता गरिने

काठमाडौं । सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रकृया अगाडि बढाएको हो । त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए ।

रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको बताए । सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत सम्झौताको प्रकृया अगाडि बढाएको हो । ‘हामीले अब स्पेन, पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशहरूसँग पनि समझदारी गरेर अगाडि बढ्न लागिरहेका छौं । त्यसका लागि दुवै देशको तर्फबाट आवश्यक गृहकार्य अघि बढेको छ’ मन्त्री भण्डारीले भने ।

पछिल्लो समय नेपालीहरूले खाडी तथा मलेसियासँगै यूरोपका विभिन्न देशहरूलाई श्रम गन्तव्य बनाउँदै गएका छन् । जसले गर्दा सरकारलाई ती देशहरूसँग सम्झौता गरेर अघि बढ्ने बाटो खुलेको हो । सरकारले जर्मनीसँग ट्रेनी कामदारको रूपमा लैजाने गरी सम्झौता गरेको थियो । त्यस्तै रोमानियासँग समेत श्रम सम्झौता गरेको थियो । यो सम्झौतासँगै रोमानिया जाने श्रमिकहरू ठगिनबाट बच्ने, १० औं लाख रूपैयाँ तिरेर जानुपर्ने बाध्यता हट्ने विश्वास मन्त्रालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस