पूर्वप्रधानमन्त्री चन्दको उपन्यास अपराजिता लोकार्पण

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १३ : ५३
पूर्वप्रधानमन्त्री चन्दको उपन्यास अपराजिता लोकार्पण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता बजारमा आएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आयोजित एक कार्यक्रममा उपन्यास अपराजिता लोकार्पण गरेकी हुन् । भण्डारीले उपन्सायमा सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिक र धार्मिक परिवेशबारे वर्णन गरिएको बताइन् । यसका साथै लेखकले उपन्यासमा राजनीतिक विषय पनि समेटेको जानकारी दिइन् ।

लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेशसँगै सशस्त्र द्वन्द्व र त्यसले पारेको प्रभावका बारेमा पनि उल्लेख गरेको भण्डारीले बताइन् । ‘द्धन्द्धको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथा मार्मिक रुपमा चित्रण गरिएको छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् । लेखकले उपन्यासका पात्रहरुको माध्यमबाट क्रान्तिको नाममा निर्दोष मानिसको हत्या र हिंसा गर्ने प्रचलनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन् ।

पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रुपमा प्रस्तुत गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसकेको चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताइन् । ‘पूर्वप्रधानमन्त्री चन्दको राजनीतिक र साहित्यिक जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी हुन सक्छ,’ उनले भनिन् ।

उपन्यास अपराजिताका बारेमा दुई साहित्यकारले आफ्ना दृष्णिकोण राखेका थिए । यस्तै, लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक चन्दले सुरुदेखि नै आफ्नो एउटा उपन्यास लेख्ने धोको रहेको जानकारी दिँदै विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताए । उपन्यास अपराजिता सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो । यसको मूल्य सात सय रुपैयाँ राखिएको छ । पुस्तक शुक्रबारदेखि नै बजारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस