काठमाडौँ। पर्यटन उद्यमी अभिषेकविक्रम शाह ‘आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड’बाट सम्मानित भएका छन् ।व्यवसायी शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत एशियन प्रोफेस्नल एचिभमेन्ट अवार्ड अन्तर्गतको आउट स्ट्याङ्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो ।
वेष्ट रिसोर्टका सञ्चालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरेका हुन् ।आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वको लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा बढीको अनुभव छ । शाहले होटल/मोटेल प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन् ।
सोल्टी होटलबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरेका उनले ह्यात रेजेन्सी, समिट ग्रूप होटल एण्ड रिसोर्टमा काम गरेका छन् । दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय बिताएका शाहले काठमाडौंको अग्रगामी पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरेका थिए ।
उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरि हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उचाल्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ ।पर्यटन उद्योगमा ठूलो योगदान पुर्याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित ‘वर्षको सबैभन्दा युवा महाप्रबन्धक’ पुरस्कार प्राप्त गरेका छन् ।
यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो।यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १३ : २२
लेखकबाट थप