राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ : केपी ओली

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १२ : १४
राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ : केपी ओली

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –आइक्याप ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभई दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताए । 

अध्यक्ष ओलीले कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए । 

उनले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गरे ।  अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताए ।

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गरे । सम्मेलनमा दिगो पर्यटन प्रवर्द्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एसियाली राजनीतिक दलका नेताहरू सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस