सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु

रासस

शुक्रबार, २६ असोज २०८०, १२ : ४८
सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु गरेको छ । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा बिहीबारदेखि  माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको इकोलोजिकल मोनिटरिङ गर्न क्यामेरा ट्यापिङ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइने छ । माडीको सोमेश्वर क्षेत्रबाट क्यामेरा ट्यापिङको काम सुरु गरिएको छ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्गकिलोमिटरको फरकमा जडान गरिएको छ । तीनवटा ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गर्न लागिएको हो । एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिने छ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड निर्माण गरिने छ । ‘टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल’ कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाबारे अध्ययन गर्न लागिएको हो ।
 
उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीनवटा बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वतमाला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ ट्यापिङ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
 
क्यामेरा ट्यापिङका लागि निकुञ्ज र तालका १५ कर्मचारी परिचालन गरिने छ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्ने गरी काम गर्न लागिएको हो ।