कांग्रेसका ८ सांसदले विद्रोह गरेकोमा गुरुको आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, ११ : ३३
कांग्रेसका ८ सांसदले विद्रोह गरेकोमा गुरुको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरु घिमिरेले संविधानको सुविधाको नाममा कोशीमा कांग्रेस सांसदहरूले दलको दायरा उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् ।कोशीको मुख्यमन्त्रीमा डा. शेखर कोइराला पक्षबाट ८ सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि घिमिरेले आपत्ति जनाएका हुन् ।

‘कोशी प्रदेशको सरकार गठनको प्रक्रियाले मेरो  ध्यान आकृष्ट भएको छ । त्यसो त लगभग दुई वर्षदेखि यस प्रदेशको कांग्रेस राजनीतिमा मेरो भूमिका  पर्यवेक्षक सरहको  मात्रै  छ । यस बिषयमा  केन्द्र र प्रदेश कार्यसमिति  दुवैको रुचि र मिलोमतो छ । 

सबै नेताहरूबीच एकमत छ’ गुरुले सामाजिक संजालमा लेखेका छन्, ‘दुनियाँमा दलीय राजनीतिमा निर्दलीय अभ्यास सर्वथा वर्जित छ भन्ने हामीलाई थाहा छ । संविधानको सुविधाको उपयोगको अर्थ दलको दायराको कदापि पनि उल्लंघन होइन र दलको व्यक्तिले यसको  दुरुपयोग गर्न सोच्नु पनि हुँदैन । दलका नेताको जिम्मेदारी र जवाफदेहिता दलप्रति नै हुनुपर्छ । यो नै दलका सदस्यको दलप्रतिको अटल निष्ठा हो।’

 

सत्ता राजनीतिमा अन्तिम मोड नभएको भन्दै गुरुले शेखर पक्षका नाममा भएको कोशीको कदम दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।‘सत्ता, राजनीतिक यात्राको क्रमको सुन्दर  देउराली र मोड हो, तरअन्तिम गन्तव्य होइन। बीपीले सत्तालाई कहिल्यै पनि  राजनीतिको साध्य मान्नु भएन भन्ने हामीलाई  हेक्का छ कि छैन ? सरकार गठनको क्रममा समाचारमा जे सुनिएको छ, दुर्भाग्यपूर्ण छ,निष्ठाको परीक्षण हुने नै छ।’ गुरुले लेखेका छन् । 

कोशीमा सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेर दाबी गरेको छ । तर कांग्रेसका ८ सांसदले एमालेका ३९ सांसदको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी गरेपछि कांग्रेसमा अन्योलको स्थिति देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस