आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी

सोमबार, २२ असोज २०८०, ०७ : २५
आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी । ग्याब्रियल मार्टिनेलीले खेलको अन्त्यतिर गोल गर्दा साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगमा आर्सनलसँग पराजित भएको छ ।

निकै निरस बनेको खेलमा दुवै टोली अङ्क बाँड्ने तयारी गरिरहँदा ८६ औँ मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । चोटबाट मुक्त हुँदै सब्सटिट्युटका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीको प्रहार नाथान आकेलाई लाग्दै जाली चुमेको थियो । 

लिगमा सिटीविरुद्ध आर्सनलले सन् २०१५ को डिसेम्बरपछि पहिलो पटक जीत हासिल गरेको हो । जीतसँगै आर्सनलले शीर्ष स्थानमा टोटनह्याम हटस्पर्ससँग अङ्क बराबरी गरेको छ । दुवैको २० अङ्क रहेको छ । १८ अंकसहित सिटी तेस्रो छ ।

आइतबार नै भएका अन्य खेलमा चौथो स्थानमा रहेको लिभरपुलले ब्राइटनसँग २–२ को रोमाञ्चक बराबरी गर्‍यो । त्यस्तै न्युक्यासल वेस्ट ह्यामसँग समान गोलअन्तरको बराबरीमा रोकियो । वुल्भ्स र एस्टन भिल्लाले पनि १–१ को बराबरी खेल्न बाध्य भए । 

प्रतिक्रिया दिनुहोस