बुटवल । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताएका छन्। वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता रहेको उनको भनाइ छ।
समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आज भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने बताए । उनले यसका लागि नयाँ ध्रुवीकरण जरुरी रहेको खुलाए।
उनले मुलुकमा बेरोजगारी व्याप्त रहेको उल्लेख गर्दै रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको जनाए । मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने उनले बताए ।
खनालले २०७४ मा बनेको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक फेरि सङ्कटमा परेको जनाए । उनले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ।
उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनु पर्ने बताए ।
समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताए । उनले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झन्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताए ।
यात्राका क्रममा आफूहरूले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दबाब दिने बताए । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि सँगसँगै लैजानु पर्नेमा जोड दिए । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल