विराटनगर पुगेर ओलीले भने– देशमा कांग्रेस छ र !

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १२ : ०८
विराटनगर पुगेर ओलीले भने– देशमा कांग्रेस छ र !

विराटनगर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपाली कांग्रेसको बोल्ने हविगत नै नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले सत्तारुढ दल कांग्रेसलाई ‘बिचरा’को संज्ञा दिँदै यस्तो बताएका हुन् ।

‘देशमा कांग्रेस कहाँ छ ! घोच्दा दुख्छ–दुख्दैन भनेर यसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा कांग्रेसका नेताहरू ।  राजनीतिक  गर्ने पाटीले बोल्नु पथ्र्याे । तर उ बोल्दैन। बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन,’ उनले भने ।

 

देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस नबोलेको भन्दै ओली आक्रोशित बनेका थिए ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धिमूलक नभएको पनि आरोप लगाए । ‘उहाँ सन्चै जानुभयो, सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने । प्रचण्डको महाकालेश्वरदेखि मानसरोवरसम्मको धार्मिक यात्रालाई उनले पाप पखाल्न गएको आरोप पनि लगाए । 

‘तपाईँहरू घरमा पूजा लगाउनु हुन्छ नि !’ ओलीले भने ‘कसले कत्रो पाप गरेको छ, उसले उत्रै पूजा लगाउँछ । उहाँको यात्रा पनि त्यस्तै हो ।’गत जेठमा भारत भ्रमणका क्रममा पनि प्रचण्डले मध्यप्रदेशस्थित उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए । ची न भ्रमणमा जाँदासमेत उनले कैलाश मानसरोवर जान भ्याए । 

फरक प्रसङ्गमा ओलीले साम्प्रदायिक विद्वेष फैलाउने काम भइरहेको बताए  । ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेष फैलाउने काम हुँदैन,’ उनले भने ‘यो देश र जनताका लागि राम्रो होइन, हितकर होइन । आफ्ना अभिष्ट पूरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’ 

पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्नसमेत दलहरूलाई आग्रह गरे ।  अहिले मध्यावधितर्फ जानु उचित नभएको उनको तर्क छ । 

मध्यावधिमा गए एमालेबाहेक अरू दलको सिट घट्ने पनि उनले टिप्पणी गरे । ‘अहिले हामीले ४० सिट जितेका छौँ, उनले भने, ‘अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस