जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, ०७ : ०४
जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन्।

वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले उनलाई पक्राउ गरेको हो।  

धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। 

पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मङ्गलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए। 

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए। प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए।

पक्राउ परेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। 

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

प्रतिक्रिया दिनुहोस