काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् ।सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले शनिवार काठमाडौंमा आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’ मा उनले काठमाडौं, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताएका हुन् ।
“काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउनका लागि योजना बनाएका छौं,” प्रमुख थापाले भने । उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको उनको भनाइ थियो ।
उनले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारवाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको प्रमुख थापाले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताए । “समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने । उनले जनताले अपेक्षा गरेअनुरुपको शान्तिसुरक्षा प्रदान गर्न काठमाडौं प्रहरी तत्पर रहेको उल्लेख गरे ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवं वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १२ : ४९
लेखकबाट थप