‘परदेशी-२’ टिम मोफसल दौडमा, हिरोमा प्रकाश सपूत ?

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १० : ३८
‘परदेशी-२’ टिम मोफसल दौडमा, हिरोमा प्रकाश सपूत ?

काठमाडौ । आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित फिल्म ‘परदेशी २’टिम अहिले मोफसल दौडमा छ। 

आफ्नो फिल्मको लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप परदेशी २ टिम काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ।

फिल्म युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । फिल्मको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ। 

फिल्मको कथा बुझाउन नाटक समेत तयार गरिएको छ। त्यही नाटक लिएर काठमाडौंपछि फिल्मको टिम यतिबेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा फिल्मको मोफसल टुर जारी रहनेछ।

बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका विद्यार्थीहरुलाई परिवारसहित फिल्म हेर्न निम्तो दिए।

अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए।

फिल्मका निर्देशक रायमाझीले ‘परदेशी’ र ‘परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ। 

गीतसंगीतलाई फिल्म जसरी छनक दिने गायक तथा संगीतकार एवम् परदेशी २ बाट पहिलो पटक फिल्ममा पाइला चालेका अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस