नाइजरमा फ्रान्सेली राजदूत र कूटनीतिज्ञलाई बनाइयो बन्धक

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, १४ : ३०
नाइजरमा फ्रान्सेली राजदूत र कूटनीतिज्ञलाई बनाइयो बन्धक

काठमाडौं। नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताइएको छ ।

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताएका छन् । सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

नाइजरको शान्ति–सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ता कब्जा गरेको दिनदेखि नै गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहोर्याउँदै आएको छ । 

राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति म्याक्रोनले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताए । नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहो¥याउँदै उहाँले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे । 

फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टेले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन् त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् ।  

फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ । सैनिक विद्रोहपछि नाइजरका नागरिकमा फ्रान्स विरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउनसक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक जना पूर्वफ्रान्सेली राजदूतले बताएका छन् । 

आफ्ना एक छोरा र श्रीमतीका साथ सैनिक हिरासतामा रहेका  राष्ट्रपति  बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उनको पार्टीले बताएको छ । हिरासतमा कष्टकर जीवन बिताइरहनुभएका उनले कठोर सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन स्वतन्त्रताका पक्षधर सबै नाइजरवासीलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस