चरन क्षेत्र अभावले सङ्कटमा भेँडापालन

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, ०९ : ०७
चरन क्षेत्र अभावले सङ्कटमा भेँडापालन

भोजपुर । भेँडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेँडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले भेँडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् ।

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेँडापालक कृषक गोविन्द बस्नेतले बताए । चरन क्षेत्रको अभावको कारण भेँडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

“चरन क्षेत्रको अभाव छ । व्यवसाय सङ्कटमा पर्दै गयो,” बस्नेतले भने, “सामुदायिक वनलाई शुल्क तिरेर भेँडा चराउनु पर्छ । त्यही पनि सहजरुपमा पाइँदैन ।”

बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने गरेको उनको भनाइ छ । लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेँडा बचाउन नै कठिन हुने बस्नेतले बताए ।

“यो व्यवसायबाट आम्दानी त राम्रै हुन्छ,” उनले भने, “तर, मुख्य समस्या नै चरनको छ । बर्खाको समयमा त जसो तसो लेकतिर लगेर पाल्छौँ । हिउँदको समयमा तल्लो भेगमा झार्नुपर्ने भएकाले चरन क्षेत्रको समस्या छ ।”

भेँडाको घ्यूसँगै मासुको बजारमा माग छ । त्यस्तै भेँडा, ऊन, घ्यु, मही, छुर्पीलगायत बिक्रीबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रको कारण भेँडा पाल्न चुनौती रहेको किसान बताउँछन् । ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत पनि किसानको आम्दानीको स्रोतको रुपमा रहेको छ ।

आम्दानी पर्याप्त हुने भए पनि भेँडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको भेँडापालक किसान मिडु शेर्पाले बताए । यस्तै बाघ, भालु तथा कुकुरले पनि भेँडा मार्ने समस्या छ । भेँडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको छ । भेँडामा धक्ने, छेर्ने, ढाडिनेलगायत रोग देखिने गरेको छ ।

“भेँडापालन व्यवसाय असहज बन्दै गएको छ,” शेर्पाले भने । चरन क्षेत्रमा सामुदायिक वनले महङ्गो शुल्क लिने गरेका छन् । चराए बापत एकजनाले वार्षिक रु एक हजारदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । चरन क्षेत्रको अभावले कतिपय व्यवसाय नै छाड्न बाध्य छन् । राज्यले भेँडापालन गर्न सहज वातावरण बनाउन किसानको माग छ ।

“हामीले पुर्खौली पेसालाई निरन्तरता दिँदै आएका छौँ । चरन क्षेत्रलगायत कारण धेरैले व्यवसाय छाड्दै गएका छन्,” किसान शेरबहादुर कठेतले भने ।

मैयुङडाँडा क्षेत्रमा २८ भन्दा बढी व्यावसायिक भेडीगोठ छन् । सरकारले भेँडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बिमा गरिदिए सहज हुने किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस