लिबियामा बाढीबाट हजारौँको मृत्यु भएको आशङ्का

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १५ : २३
लिबियामा बाढीबाट हजारौँको मृत्यु भएको आशङ्का

लिबिया । शक्तिशाली आँधीपछि आएको भीषण बाढीमा परेर लिबियामा हजारौँको मृत्यु भएको आशङ्का गरिएको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता नपाएको इस्ट लिबियन सरकारका प्रमुखले मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको र अझै हजारौँ बेपत्ता भएको बताएका हुन् ।

इस्टर्न प्रधानमन्त्री ओसामा हमादले त्यहाँको टेलिभिजनसँग कुराकानी गर्दै यसबारे जानकारी दिएका थिए । यद्यपि उनले यस तथ्याङ्कको स्रोत भने खुलाएनन् ।

 

लिबियाका विज्ञ रहेका जालेल हरचाओईले पनि बीबीसीसँग कुरा गर्दै मृत्यु हुनेको सङ्ख्या ‘कयौँ हजार’ पुग्ने बताए । ड्यानियल आँधी आइतबार लिबिया पुगेको थियो । सरकारी अधिकारीहरूले आपत्कालको घोषणा गर्न बाध्य भएका थिए ।

 

उद्धारका क्रममा सात लिबियाली सैनिकसमेत बेपत्ता भएको बताइएको छ । पूर्वी सहरहरू बेनझागी, सोसे, डर्ना र अल–मार्ज सबैभन्दा बढी प्रभावित भएका छन् । रेड क्रिस्चेन्टका अनुसार डर्नामा मात्र १५० जनाको मृत्यु भएको छ । करिब एक लाख जनसङ्ख्या भएको यहाँ दुईवटा ड्याममा क्षति पुगेर डुबान भएको छ ।

प्रतिक्रिया दिनुहोस