सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अन्योल

पत्रपत्रिकाबाट

सोमबार, १८ भदौ २०८०, ०८ : १४
सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अन्योल

काठमाडौ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो ।

 अर्थ मन्त्रालयका उपसचिव धनीराम शर्माले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए  पनि  खरिदको  विषयमा  अहिलेसम्म  कुनै  निर्णय  नभएको  जानकारी  दिए । उनले भने, “चिनी खरिदको विषयमा मन्त्रालयमा छलफल भएको छ, अहिलेसम्म चिनी के कति परिणामको खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ६० हजार टन चिनी खरिद गर्न साउन १८ गते र साउन ३१ गते दुुई वटा पत्र अर्थ मन्त्रालयमा पेस गरेको छ । त्यसपछिका दिनमा पनि वाणिज्य मन्त्रालयले चिनीका विषयमा बारम्बार ताकिता गरेको छ तर अर्थ मन्त्रालयले स्वीकृति दिएको छैन । अब पनि छिटो निर्णय गरिएन भने यस वर्ष पनि दसैँतिहारमा बजारमा चिनीको अभाव हुुने र चिनी उद्योगी तथा व्यापारीले मूल्यमा चलखेल गर्ने देखिएको छ ।

वाणिज्य मन्त्रालयका अनुसार कर्पोरेसनबाट ५० हजार टन र खाद्य कम्पनीबाट १० हजार टन भन्सार छुुटको चिनी ल्याउने गरी अर्थसँग सहमति मागेको हो । गोरखापत्रमा खबर छ ।