नेपाल एक अर्ब जनसंख्याको पानीको स्रोत हो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १३ : १४
नेपाल एक अर्ब जनसंख्याको पानीको स्रोत हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको बताएका छन् । विश्व वातावरण कोषको सातौं एसेम्बली बैठकमा बोल्दै उनले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको स्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताए ।

उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावरको संरक्षण गरेको पनि बताए । त्यसको नतिजा स्वरुप नेपालमा बाघ र एकसिंगे गैडाको संख्या उल्लेख्य रुपमा बढेको पनि मन्त्री महतले दाबी गरे ।

प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए ।

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको डा. महतले बताए ।

मन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नुपर्ने बताउँदै जलवायु परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे ।

यसैगरी नेपालले जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा गरेको प्रयासलाई प्रोत्साहन गर्ने गरी ठोस कार्यक्रम मार्फत हरित पूर्वाधार निर्माण तथा स्थानीय जनताको आयआर्जन र जीवनस्तर सुधारमा वातावरणीय कोषका कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने पनि मन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस