कञ्चनपुरमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कुटपिट गरेको विरोधमा विद्यालय बन्द

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १२ : २९
कञ्चनपुरमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कुटपिट गरेको विरोधमा विद्यालय बन्द

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । विद्यालयका शिक्षक तथा लेखापालमाथि कुटपिट गरिएको भन्दै नगरपालिकाभित्रका सामुदायिक विद्यालय बन्द गरिएको हो । भदौ ३ गते भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशीमाथि सामूहिक कुटपिट गरिएको थियो । 

प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि ठूलो संख्यामा विद्यालयभित्र प्रवेश गरेको समूहले मराशन्न हुनेगरी कुटपिट गरेको थियो । उक्त कुटपिटपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।फरार रहेकाहरूको खोज तलास भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी कमल थापाले बताए । 

कक्षा १० मा पढ्ने एक छात्राले आफ्नो सम्वेदनशील अंग समातेको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि साउन ३२ गते विद्यालयमै छलफल गरिएको थियो । तर, त्यो छलफलबाट कुनै निष्कर्ष निस्किन सकेन् । त्यसपछि भदौं ३ गते विद्यार्थी, अभिभावक तथा स्थानीय आएर विद्यालयमा विरोध प्रदर्शन गरे ।  त्यही क्रममा प्रहरीले आरोपति जोशीलाई नियन्त्रणमा लिएको थियो । 

हतकडी लगाएर प्रहरी कार्यालयमा लैजाने क्रममा प्रदर्शनकारीहरूले उनीमाथि कुटपिट गरे । कुटपिटबाट गम्भीर घाइते बनेको जोशीको धनगढीस्थित निर्सग अस्पतालको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।  उनीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि कुटपिट हुँदा प्रहरीले सुरक्षा प्रदान गर्न नसकेको, र लेखापालमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गरिएको हो । 

किटानी जाहेरीको आधारमा प्रहरीले स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरेको छ । कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको एसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस