सिपालु गृह श्रमिकका फेरिएका दैनिकी

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १० : ३२
सिपालु गृह श्रमिकका फेरिएका दैनिकी

काठमाडौँ ।  विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउदैँ आएकी छिन् । उक्त कार्यबाट उनले मासिक रु ४० हजारसम्म आम्दानी गर्ने गरेकी छिन् । 

श्रीमायालाई मासिक रु ४० हजार कमाउनका लागि नत नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । उनी भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवानलाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गर्छिन् । श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउछिन् । जसलाई उनले प्रतिगोटा रु ५० मा बेच्दै आउनुभएको छ । बौद्धमा बस्ने श्रीमाया उमेरले ५० काटिसकेकी छिन् तर उनमा चोप्पेन बनाउने जाँगर भने पहिलेजस्तै नै छ ।  

श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउछिन् । आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकोमा उहाँ खुसी छिन् । श्रीमाया भन्छिन् –जति बेला कोरोनाको कारण मठ मन्दिर र पूजाआजा ठप्प थियो त्यस समयमा भने व्यापार कम थियो अहिले पुरानै लयमा व्यापर फर्किएको छ । काम गर्ने उत्साह छ ।    

श्रीमाया आफ्नो कामप्रति खुसी  छिन् । “शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने । सोह्र वर्ष पहिले काम सुरु गर्दा सबै परिवार यही पेसामा लागेका थियौँ । यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए । अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ,” श्रीमायाले खुसी हुँदै विगत सुनाइन्  ।  

त्यस्तै काठमाडौँको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइको काम गर्दै आएकी मञ्जु गजुरेल पनि गृह श्रमिकको रुपमा काम गर्न पाउँदा दङ्ग छिन् । उनले सुरुमा एक्लै काम थालिन् । अहिले ११ जना गृह श्रमिकको समूहको अगुवाइमा उक्त काम समाल्दै आएकी छिन् । एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उनको अनुभव छ । नाम खुलेर भन्न नसक्ने महिला समूहमा आएका थिए । विस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वास बढ्दै गएको गजुलेल बताउछिन् ।  

“आफ्नो हातमा सीप नहुँदा आर्थिकरुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु,” खुसीका साथ उनले भनिन् । यद्यपी पछिल्लो समय उनलाई चिन्ता थपिएको छ । कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उनमा चिन्ता थपिएको हो । गजुरेलको समूहले गृह श्रमिकको रुपमा नेपाली दौरा सुरुवाल र साना बालबालिकाको लागि न्यानो कपडा सिलाउँदै आएको छ । उत्पादन गर्नुभएको सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेको उनी बताउछिन् ।  

गजुरेलले भनिन्, “पहिलेजस्तो होइन अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन ।” उनले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गरिन् । गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्ने गरी वातावरण बन्दिए हुन्थ्यो भन्छिन्, गजुरेल ।   

प्रतिक्रिया दिनुहोस