मनाङ सडकमा छिनछिनमा पहिरो : साँझ खुल्यो बिहान अवरुद्ध, पर्यटक र कर्मचारी बाटोमै अलपत्र

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, १३ : ०५
मनाङ सडकमा छिनछिनमा पहिरो : साँझ खुल्यो बिहान अवरुद्ध, पर्यटक र कर्मचारी बाटोमै अलपत्र

मनाङ। हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीशहर नगरपालिका–६ खरखरे, मर्स्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

 

धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसीशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बँसीशहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ । सबइञ्जिनियर अधिकारीले भने, “एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ ।” धरातल कमजोर भएको अवस्थामा साँघुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको उनको भनाइ थियो  ।

 सबइञ्जिनियर अधिकारीले भने, “मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ ।” मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ । 

 

सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा  मनाङ आउने पर्यटक, पथप्रदर्शक र कर्मचारीहरू  बीच बाटोमै अलपत्रमा परेका छन् । 
    
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए । उनले भने, “किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पुर्‍याउन सास्ती भएको छ, अर्डर आएको सामान समयमा बजारसम्म पुर्‍याउनै सकिँदैन र आम्दानीभन्दा पनि सामान पुर्‍याउनमै खर्च बढी लाग्ने गरेको छ ।” 

यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडौं, चितवनलगायत देशका ठूला शहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पुर्‍याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस